logo of PMS News Nepal

PMS News Nepal

२६ कार्तिक २०८३, बुधबार

11 Nov 2026, Wednesday

अर्थ / वाणिज्य

श्री देवीस्थान सामुदायिक वनको १५औँ वार्षिक साधारण सभा सम्पन्न

-

फाइल तस्बिर

भक्तिराम घिमिरे

कपिलवस्तु | १४ कार्तिक २०८३, शुक्रबार

बुद्धभूमि नगरपालिका–१, भेलाई चफेलास्थित श्री देवीस्थान सामुदायिक वन उपभोक्ता समूहको १५औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।

समूहका अध्यक्ष कृष्णप्रसाद बन्जाडेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बुद्धभूमि नगरपालिकाका नगरप्रमुख केशवकुमार श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा वडा अध्यक्ष तथा नगर प्रवक्ता तेजबहादुर बस्नेत विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

त्यसैगरी सबडिभिजन वन कार्यालय बडहराका वरिष्ठ वन अधिकृत मुसाफिर भगत, वैज्ञानिक वन उपभोक्ता राष्ट्रिय महासंघकी केन्द्रीय अध्यक्ष रेणु सेन, वडा सदस्य तथा कार्यपालिका सदस्य कमला चौधरी, वडा सदस्य उमेश्वर थारु, महेन्द्रकोट  गाउ विकास समितिका पूर्वअध्यक्ष वीरेन्द्र मिश्रलगायत विभिन्न छिमेकी सामुदायिक वनका अध्यक्ष, पूर्वअध्यक्ष, पत्थरकोट प्रहरी चौकीका प्रमुख, समाजसेवी तथा बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा सचिव अमृता थारुले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने उपाध्यक्ष पूजा विकले स्वागत मन्तव्य राख्नुभएको थियो। कोषाध्यक्ष विनोद महत्राले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। आगामी आर्थिक वर्षका लागि अध्यक्ष कृष्णप्रसाद बन्जाडेले एक करोड ९२ लाख रुपैयाँको अनुमानित बजेट प्रस्तुत गर्नुभएको थियो। साधारण सभाले आर्थिक प्रतिवेदन, सचिवको प्रतिवेदन तथा आगामी आर्थिक वर्षको अनुमानित बजेट सर्वसम्मत रूपमा पारित गरेको छ।

२१० दशमलव ९ हेक्टर क्षेत्रफलमा फैलिएको यस सामुदायिक वनमा ३४५ जना उपभोक्ता आबद्ध रहेका छन्।

कार्यक्रममा बोल्दै छिमेकी जयवन शक्ति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जीवन जिसीले वडाभित्र रहेका १३ वटै सामुदायिक वनले आपसी समन्वय र सहकार्य गर्दै विकास निर्माणका कार्यलाई अगाडि बढाउनुपर्ने बताउनुभयो।

त्यसैगरी महेन्द्रकोट गाविसका पूर्वअध्यक्ष वीरेन्द्र मिश्रले सामुदायिक वनको संरक्षणसँगै उपभोक्ताको आवश्यकता पहिचान गरी प्राथमिकताका आधारमा बजेट विनियोजन तथा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो।

वैज्ञानिक वन उपभोक्ता राष्ट्रिय महासंघकी केन्द्रीय अध्यक्ष रेणु सेनले महिलाहरूले आफ्ना अधिकारका विषयमा आवाज उठाउन र अधिकार प्राप्तिका लागि सक्रिय हुनुपर्ने बताउनुभयो।

सबडिभिजन वन कार्यालय बडहराका वरिष्ठ वन अधिकृत मुसाफिर भगतले वनको विकाससँगै संरक्षणलाई पनि प्राथमिकता दिनुपर्ने र वनसम्बन्धी कार्यहरू नियमसङ्गत रूपमा सञ्चालन गर्नुपर्ने बताउनुभयो।

विशिष्ट अतिथि वडा अध्यक्ष तथा नगर प्रवक्ता तेजबहादुर बस्नेतले सबैको सल्लाह, सुझाव र सहकार्यका आधारमा आगामी बजेटमार्फत वन विकाससँगै सामाजिक विकासका कार्यक्रमलाई समेत अघि बढाउन सकिने धारणा राख्नुभयो।

कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख केशवकुमार श्रेष्ठले वनले वातावरण स्वच्छ र सन्तुलित राख्नुका साथै जीविकोपार्जनमा सहयोग र रोजगारी सिर्जना गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले वनको संरक्षण र विकासमा सबै उपभोक्ता तथा सरोकारवालाहरू एकजुट भएर लाग्न आग्रह गर्नुभयो।

कार्यक्रमको सञ्चालन समूहका सचिव अमृता थारुले गर्नुभएको थियो।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।